निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न सकेन : अर्थमन्त्री महत

आर्थिक परिवेश

३० साउन, काठमाडौं ।  अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनुभएको छ ।

आन्तरिक राजस्व विभागले मंगलवार आयोजना गरेको ‘व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कराधार बढाएर चालु आवको राजस्व लक्ष्य भेट्न सकिने धारणा राख्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दरभन्दा पनि दायरा बढाउन सके सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको राजस्व प्रणाली आयातमुखीभन्दा पनि उत्पादनमुखी हुनुपर्नेमा उहाँले जोड दिनुभयो

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले चालु आवमा अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिएको र दक्षिण एसियाली मुलुकको तुलनामा नेपालमा कर महङ्गो भएको बताउनु भयो ।

मा प्रकाशित