पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज हुन्छ : उद्योगमन्त्री रिजाल

आर्थिक परिवेश

२ भदाै, वीरगन्ज ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ ।

नेपाल आयल निगम वीरगञ्ज शाखाले शनिवारदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्नुहुँदै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरी बिक्री वितरणलाई सहज बनाउने बताउनु भएको हो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उहाँले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्याङ्करमा ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जानकारी दिनुभयो ।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहट लगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने उल्लेख गर्दै उहाँले यसबाट चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने भएको छ ।
निगमको वीरगञ्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द भएको थियो । शुक्रबार नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयले दोस्रो चरणको टैंकट्रक लकिङ सुरु गरेको थियो ।

नेपाल आयल निगम शाखा कार्यालय वीरगन्जबाट बिलिङ गरी इन्धन वितरण कार्यको उद्घाटन गर्दै उहाँले वीरगन्ज तथा आसपासका पेट्रोलियम डिलरहरू अब अमलेखगन्ज गएर इन्धन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

उद्घाटन भएसँगै आजैबाट नेपाल आयल निगमले अब शाखा कार्यालय वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कार्य पुनः सञ्चालनमा ल्याएको छ ।

सो अवसरमा मन्त्री रिजालले वीरगञ्ज शाखाबाट बिलिङ सुविधा सुरु भएसँगै वीरगञ्ज लगायत आसपासका पेट्रोलियम व्यवसायीलाई पेट्रोल, डिजेल, मट्टितेल लगायतका इन्धनको ढुवानी सहज भएको बताउनुभयो ।

मा प्रकाशित