बुटवलले खाली क्षेत्रमा वृक्षारोपण, हरियाली र विभिन्न स्थानमा पार्कहरू निर्माण गर्ने

आर्थिक परिवेश

१४ भदाै,रुपन्देही ।  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरूलाई निर्देशन दिनुभएको छ ।

बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले वर्षायाम लागेपछि योजना सम्पन्न गर्नतर्फ लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्नका लागि बुटवलमा नियमित रुपमा सरसफाई अभियान सञ्चालन गरिरहेको, खाली क्षेत्रमा वृक्षारोपण गर्ने र हरियाली बनाउने, विभिन्न स्थानमा पार्कहरू निर्माण गर्ने काम अगाडि बढाएको बताउनुभयो ।

उहाँले सडक क्षेत्रका छाडा चौपाया व्यवस्थापनको व्यवस्थापनका लागि दुई खालका नीति अपनाउँदै काम अगाडि बढाएको बताउनुभयो ।

उहाँले तत्काल, गौशाला सञ्चालन गरी बुटवलको सडकमा रहेका छाडा चौपायालाई गौशालामा व्यवस्थित गर्ने र अन्यत्रबाट थपिँदै जाने अवस्था भएकाले दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताउनुभयो ।

‘उहाँले बुटवल र बुटवलजस्ता अरू शहरहरुमा अन्यत्रबाट गाईबस्तु आउने र सडकमा बस्ने भएकाले राजमार्ग क्षेत्रका स्थानीय तहहरू र प्रदेश सरकारको समन्वयमा प्रदेशस्तरको गौशालासहितको संरक्षण केन्द्र बनाउने गरी प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो ।

उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्य मुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यीकरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै उहाँले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउने र  रात्रिकालीन बजार सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बजारलाई व्यवस्थित गर्नका लागि नियमित अनुगमन र व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

उहाँले बुटवललाई व्यवस्थित र सफा सहर बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख मित्रमणि खनालको सञ्चालनमा भएको कार्यक्रममा बुटवलका राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूले बोल्दै बजेट र कार्यक्रमले सबै क्षेत्र समेटेको देखिएअनुसार कार्यान्वयनमा जोड दिन सुझाव दिएका थिए ।

मा प्रकाशित