बाह्रैमास सिँचाइ हुने क्षेत्र भनेको १७/१८ प्रतिशतभन्दा धेरै छैन : कृषि मन्त्री

आर्थिक परिवेश

१७ भदौ, काठमाडौं ।  कृषि तथा पशुपक्षी विकास मन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइको समस्या चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री भुषालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रुपमा सिँचाइको असुविधा नै रहेको बताउनु भयो ।

मन्त्री भुषालले हालसम्म ४८ प्रतिशत जमिनमा मात्रै सिँचाइ भएको र त्यो पनि बर्खा आसपासमा मात्रै, बाह्रैमास सिँचाइ हुने क्षेत्र भनेको १७÷१८ प्रतिशतभन्दा धेरै नभएको उल्लेख गर्नु भयो ।

उहाँले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठज्यूले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा आचार्यले समग्र कृषि क्षेत्रको विकासका निम्ति नीति र सरकारी क्षेत्रबीच समन्वय र एकता हुनुपर्नेमा जोड दिनुभयो ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रको विकासका निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन २०८५” अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले निम्नानुसारका ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको छ ।

१. इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरु”
२. स्याङजा र चितवनमा अवस्थित “फार्म उत्कृष्टता केन्द्र”
३. कृषिमा लगानी प्रवद्र्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र”
४. कृषकहरुलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर”
५. आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप”

मा प्रकाशित