१९ भदौ , काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रारम्भिक हस्ताक्षर भएको दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतले अनुमोदन गरेसँगै १० हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने स्.भावना बढेको छ ।
दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतको मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको अनौपचारिक जानकारी प्राप्त भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ ।
निर्णयको औपचारिक जानकारी भए पछि त्यसमा चाँडै नै काठमाडौंमा दुई देशका सचिवस्तरमा छलफल गरी विस्तृत सम्झौतामा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो ।
नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ–टर्म पावर पर्चेज एग्रीमेन्ट) मा मुख्य रुपमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यातको विषय मुख्य रुपमा उल्लेख छ, । सम्झौतापछि विद्युतको निर्यातको लागि बाटो खुल्छ,’उनले भने ।
विद्युत् व्यापारसम्बधी समझदारीपत्रलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरूपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक रूपमा भारतीय इनर्जी एक्सचेञ्ज मार्केटमा चार सय ५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ ।
सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो ।