टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीनको सहयोग जुटाइन्छ : अर्थमन्त्री

आर्थिक परिवेश

२३ भदाै, काठमाडाैं ।  अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडाैंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ ।

नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताउनुभएको हो ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेको अर्थ मन्त्रीले बताउनु भयो ।

उहाँले योजना सम्पन्न गर्न करिब ५० अर्ब लाग्ने अनुमान रहेको र यो वर्ष नेपालले एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुने बताउनु भयो ।

नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौँ आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको सडकलाई सुरुङ मार्गमार्फत काठमाडौँमा जोड्नसके दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।

मन्त्रिपरिषद्को विशेष निर्णयअन्तर्गत निर्माण थालिएको धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली हँदै चीनसँगको सीमा रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग निर्माणको काम नेपालको लगानीमा आधाभन्दा बढी सम्पन्न भइसकेको छ ।

मा प्रकाशित