स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरण गर्नुस् : उद्योगमन्त्री रिजाल

आर्थिक परिवेश

२४ भदौ,वीरगञ्ज ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आइतवार वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उहाँले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेकाले छिट्टै समाधान हुने बताउनुभयो ।

“मुलुकको अर्थतन्त्रका मेरुदण्ड उद्योग, व्यवसायी भएकाले उद्योगी व्यवसायीको समस्या समाधान गरी मुलुकमा औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ”, मन्त्री रिजालले भन्नुभयो ।

सरकारद्वारा ल्याउन लागिएको वाणिज्य नीतिका विषयमा सरोकारवालासँग छलफल अघि बढाइएकोले सुझावका आधारमा सरकारले वाणिज्य नीति ल्याउने उद्याेग उहाँको भनाइ थियो ।

राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक लगायतका क्षेत्रमा अझै परिवर्तन हुन नसकेकाले मुलुकको अर्थतन्त्र सुदृढ हुन नसकेको जिकिर गर्नुहुँदै मन्त्री रिजालले अब राजनीतिक स्थिरता कायम गरी आर्थिक र सामाजिक रुपान्तरणमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

सरकारले घोषणा गरेको वीरगञ्ज–पथलैया आर्थिक करिडोरलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुहुँदै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योगा वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगञ्ज हानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीकाे सहभागिता रहेकाे थियाे ।

उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी लगायतले सरकारले लगाएको दोहोरो, तेहोरो करका कारण उद्योगी व्यवसायी मरमा परेकाले एकै ठाउँमा कर तिर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो ।

मा प्रकाशित