२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

आर्थिक परिवेश

२६ भदौ,रसुवा ।   नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको मंगलवार शिलान्यास भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गर्नुभएको हो ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् ।

शिलान्यास समारोहमा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत आर्थिकरूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गर्नुभयो ।

मुख्यरूपमा हिउँदमा विद्युत् माग पूरा गर्नका लागि रहेकाले नमूना आयोजनाका रूपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उहाँले जलविद्युत् क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।

समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावरका सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाई अतिरिक्त ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताउनुभयो  ।

आयोजनाको मुख्य निर्माण गत २०७८ पुसदेखि सुरु गरिएको थियो ।

आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् ।

कूल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ ।

मा प्रकाशित