३ असाेज, काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १.९ प्रतिशतभन्दा माथि हो । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।
एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ले सन् २०२३ यता एसिया प्रशान्तीय क्षेत्रको अर्थतन्त्रमा सुधार हुन थालेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर ०.५० प्रतिशत बिन्दुले समायोजन गरी ६.५ प्रतिशत कायम गरेको छ । जसले व्यावसायिक ब्याजदर न्यूनीकरणमा मद्दत पुग्नुका साथै आर्थिक गतिविधिलाई बढावा दिने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।
एडीबीले रियलइस्टेट, थोक एवं खुद्रा व्यापार तथा आवास र खाद्य सेवाको विस्तारले सेवा क्षेत्रको विस्तारले गति लिने अपेक्षा गरेको छ ।
यो वर्ष वर्षा ऋतुको प्रारम्भमा पर्याप्त वर्षाको नहुनुका साथै अनियमित मौसम प्रणाली साथै पशु चौपायामा लम्पी स्कीन प्रकोपका कारण कृषि क्षेत्रको विस्तार भने संकुचित हुने एडीबीको प्रक्षेपण छ ।
चालु आर्थिक वर्षको औसत मुद्रास्फीति गत वर्षको ७.७ प्रतिशतको तुलनामा घटेर ६.२ प्रतिशतमा सीमित हुने प्रतिवेदनको प्रक्षेपण छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र मुलुकको आयातको मुख्य स्रोत मुलुक भारतमा मुद्रास्फीतिमा कमी आएका कारण महंगी दर घटेको एडीबीले जनाएको छ ।
गत साउनमा महंगी दर ७.५२ प्रतिशतले कायम भएको छ। सरकारले चालु आर्थिक वर्षमा महंगी दर ६.५ प्रतिशत सीमित राख्ने लक्ष्य राखेको छ ।
नेपालको अर्थतन्त्रको प्रमुख स्रोत कृषि र पर्यटन भएका कारण यी क्षेत्र अन्तर्गत पूर्वाधार विस्तार गर्न आवश्यक रहेको एडीबीले जनाएको छ ।
मा प्रकाशित