७ असोज, काठमाडौ । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको निर्यात २६ अर्ब ४४ करोड ७० लाख रुपैयामा खुम्चिएको छ ।
यस अवधीमा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु नेपालमा आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।
गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ ।
यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो ।
गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा १६ अर्ब ७३ करोड बराबरको निर्यात भारत तर्फ गरेको छ ।
यो अवधि भारतसँग मात्र नेपालको व्यापार घाटा एक खर्ब ४४ अर्बको भएको छ ।
त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।
गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो ।
नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ ।
साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ ।
अमेरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड बराबर रहेको छ ।
मा प्रकाशित