१५ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु भएको भएको छ ।
धितोपत्र बोर्डहरुको अन्तराष्ट्रिय संगठन आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा त्यस क्षेत्रका सम्वद्ध निकायहरुको समेत संलग्नतामा आयोजित विश्व लगानीकर्ता सप्ताहको अर्थमन्त्री डा प्रकाशशरण महतले शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा अर्थमन्त्री डा महतले शेयर बजारबाट केही सिमित व्यक्तिहरुले चलखेल गरी फाइदा लिने र सर्वसाधारण आम लगानीकर्ताहरुलाई बिलखबन्धनमा पार्ने काम भैरहेको भन्दै त्यसतर्फ लगानीकर्ता र नियामक सचेत हुनुपर्ने बताउनु भयो ।
उहाँले बजारलाई स्वच्छ बनाउदै लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।
अर्थमन्त्री महतले धितोपत्र बजारबाट गोप्य सूचनाहरु चुहिने र इन्साइडर कारोवार हुने जोखिमलाई ध्यान दिएर नियमनलाई थप प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनु भयो ।
अर्थमन्त्री महतले लगानीकर्ताहरुलाई उपयुक्त ढंगले लगानीका लागि जागरुक, सजग र सुसूचित गराउन तथा शिक्षित बनाउन लगानीकर्ता शिक्षा र सचेतनाका कार्यक्रममा जोड दिन सम्बद्ध निकायहरुलाई निर्देशन दिनु भयो ।
लगानीका नयाँ–नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति थपेको बताउँदै त्यससँगै लगानस्कर्ता ब्रोकर तथा नियामकले पनि आफूलाई तयार राख्नुपर्नेमा अर्थमन्त्रीले जोड दिनु भयो ।
कार्यक्रममा अर्थमन्त्री महतले लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट संचालनको शुभारम्भ समेत गर्नु भयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा लगानीकर्ताको संख्या उल्लेख्य मात्रामा बढेको भए पनि वित्तीय साक्षरता २० प्रतिशतभन्दा कमै रहेको बताउनु भयो ।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा एक साताभर लगानीकर्ता सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन हुने अध्यक्ष हमालले बताउनु भयो ।
लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआई बेस च्याटबट सुरू भएको जानकारी गराउँदै वित्तीय साक्षरताका लागि एफएनसीसीआईसँग सम्झौता गरेर देशभर कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
उहाँले लगानीकर्ता संरक्षणको लागि धितोपत्र बोर्डले विभिनन कम्पनीका स्वतन्त्र सञ्चालकको प्रोटोकल तयार गर्न लागेको र वाषिर्क रिपोर्टिङ स्ट्यान्डर्ड समेत यही सन् २०२३ भित्रै लागू गर्ने तयारी भएको पनि बताउनु भयो ।
कार्यक्रममा विश्व लगानीकर्ता सप्ताह आयोजना व्यवस्थापक समितिका नेपाल संयोजक डा नवराज अधिकारीले सोमवारबाट शुरु भएको विश्व लगानीकर्ता सप्ताह अन्र्तगत लगानीकर्ताहरुका लागि विभिन्न शिक्षामुलक तथा चेतनामुलक कार्यक्रमहरु देशभर संचालन गर्न लागिएको बताउनु भयो ।
सप्ताह अन्र्तगत असोज २० गते विहान रेडियो नेपालबाट अन्र्तकृया कार्यक्रमको प्रसारण हुने समेत कार्यक्रम रहेको छ ।
सप्ताहको पहिलो दिन आज धितोपत्र बजारका विभिन्न पक्षमा चार जना विज्ञहरुले कार्यपत्र प्रस्ततु गरी छलफल समेत भएको छ ।