नेपालीहरुको शव फिर्ता गर्न इजरायल सरकार र सरोकारवाला निकायसँग सहकार्य गरि प्रकृया अघि बढयाे

आर्थिक परिवेश

२२ असाेज, तेल अबिब, इजरेल ।  दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि नेपाली राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको छ ।

घटनामा परी घाइते मध्ये ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने दुई जनालाइ  तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको नेपाली राजदूतावास तेल अबिबले जनाएकाे छ।

साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ।

हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु गरिसकेको छ।

हाल केही विद्यार्थीहरुको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका छन्।

नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेशन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको अवस्था छ।

इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न नेपाली राजदूतावास तेल अबिबले अनुरोध गरेकाे छ ।

 

मा प्रकाशित