सर्वदलीय बैठकमा इजरायल घटनामा दिवङ्गत, प्रभावमा परेका र उद्धार सम्बन्धमा छलफल

आर्थिक परिवेश

२२ असाेज, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा इजरायल घटनामा दिवङ्गत भएका र प्रभावमा परेका नेपालीहरूको सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साेमवार  बसेको बैठकमा सरकारले इजरायल घटनामा परेका नेपालीहरूको भइरहेको उद्धार तथा प्रगतिको बारेमा प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभएको नेताहरूले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका वरिषठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री प्रचण्डले इजरायल घटनामा नेपालीहरूको पछिल्लो स्थितिको बारेमा जानकारी गराउनुभएको र आफूहरूले सन्तुलित रुपमा अघि बढ्न सुझाव दिएको बताउनुभयो ।

यस्तै, बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले इजरायल घटनामा परेकाहरूको उद्धार र राहतका लागि काम गरिरहेकोले थप दुःखद घटनामा त्यहाँ रहेका कोही नेपाली नपरुन् र परेकाहरूको यथाशीघ्र उद्धार होस् भन्ने किसिमका सुझाव सहभागी दलहरूबाट आएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले सरकारले इजरायल घटना प्रभावितका सम्बन्धमा गरेका निर्णय र सुरु गरेका कामहरूको प्रभावकारी कार्यान्वयन गर्ने  विषयमा बैठकमा जोड दिइएको बताउनुभयो ।

आजै ४ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि बेलुकी ५ बजे प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको हाे ।

मा प्रकाशित