२६ असाेज, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट मात्र समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने बताउँदै अर्थतन्त्रलाई माथि उठाउन उद्योगी व्यवसायीहरूले सकारात्मक योगदान दिनुपर्ने बताउनुभएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डल सँगको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले देशको अर्थतन्त्रलाई चौतर्फी ढङ्गबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो ।
भेटवार्तामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगञ्जका उद्योगी व्यवसायीले भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको थियो ।
विशेष गरी उद्योग व्यवसायको प्रवर्द्धन र विकासका लागि नियमनकारी निकायहरू कर, भन्सार, राजस्व, प्रहरीका अवरोधको कारण उद्योगी व्यवसायी हतोत्साहित भएको बताउँदै अध्यक्ष अग्रवालले उद्योगी व्यवसायहरूको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो ।
भेटमा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारी लगायतको सहभागिता रहेको थियो ।
मा प्रकाशित