२७ असाेज, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताउनु भएकाे छ।
कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताउनु भएकाे हाे ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको उल्लेख गर्नु भयाे ।
आफू निर्वाचित भएको खण्डमा आफ्नो चुनावी बाचापत्रलाई इमानदार भएर पुरा गर्न लागि पर्ने पनि शर्माले बताउनु भयाे ।
‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उहाँले भन्नु भयाे , ‘सबै साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’
उहाँले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरु आइसकेको भन्दै पुरै टीमले नै चुनाव जित्ने विश्वास व्यक्त गर्नु भयाे ।
शर्माले एनआरएनएको पवित्र उद्देश्य पुरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलहरूको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन भने नहुनेप्रति सचेत रहेको बताउनु भयाे ।
राजनीतिक दलहरूसँग सहकार्य गरेर एनआरएनएले कार्य गर्दै आएको पनि शर्माका दाबी थियाे ।
२४ महिनामा २४ वटा काम गर्ने बाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताउनु भयाे ।
त्यसका लागि आफूले इमानदार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरुलाई पनि एउटै मालामा उन्न पहल गर्ने उहाँको भनाइ थियो ।
‘केही समययता, गैरआवासीय नेपाली महासंघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पुर्याएको छ’, शर्माले उल्लेख गर्नु भयाे , ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ ।
मैले निरन्तररुपमा प्रयास गरिरहेको छु। एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु।’
पत्रकार सम्मेलनमा शर्मालाई समर्थन गर्दै हालकाे कार्यसमितिका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्व एनआरएनएमा बढाउन जरुरी रहेको बताउनु भयाे ।
शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका मलेसियाका खगेन्द्र न्यौपानले शर्माले पेश गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको र शर्मा सहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताउनु भयाे ।
जापानका रोविन्द्र प्रसाद श्रेष्ठले काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताउनु भयाे ।
नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै बिचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएकाे खण्डमा मात्र त्यो पूरा हुने हुँदा आफूले शर्मालाई समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताउनु भयाे ।
अस्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका योजना समुदायका काम गर्ने योजना अगाडि बढाएकोले त्यो एजेण्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताउनु भयाे ।
उहाँले १५ लाख डलरमा अस्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा बनाउनको लागि अगाडि सारेको जानकारी दिनु भयाे ।
उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर शुभकामना दिनु भएकाे थियाे । पत्रकार सम्मेलनमा समुहका तफर्बाट उम्मेदवार सबैले शर्माकाे टिमलाइ विजयी गराउन अनुराेध गर्नु भएकाे थियाे ।
मा प्रकाशित