०३ कार्तिक, म्यागदी । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो ।
असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।
“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्”, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भन्नुभयो, “मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीयको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शन भ्रमणका लागि आउँछन् ।”
उहाँले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताउनुभयो ।
अघिल्ला वर्षको तुलनामा मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल भने केही घटेको पाइएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गर्नुभयो ।
गत वर्षको तुलनामा आन्तरिक पर्यटक मुस्ताङमा धेरै कम भित्रिएको जोमसोमस्थित होटल सिर्जना होटल एण्ड थकाली भान्छा घरका सञ्चालक मनगुना थकालीले बताउनुभयो ।
मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन नसकेको थकालीले बताउनुभयो ।
मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित छन् । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् ।
मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रबिन कडरियाले बताउनुभयो ।
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।
मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्य सम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ ।
मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने र पितृहरूको उद्धार हुने आशामा बर्सेनि हजारौँ तीर्थयात्री मुक्तिनाथ क्षेत्र पुग्छन् ।
मा प्रकाशित