१५कार्तिक,लण्डन,संयुक्त अधिराज्य । नेपालको विभिन्न क्षेत्रका व्यक्ति तथा विज्ञहरुले नेपालमा लगानीको वातावरण निर्माण भएकोले नेपालमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
बेलायतको राजधानी लण्डनमा नेपालमा लगानी सम्बन्धमा आयोजित एक उच्चस्तरीय सम्मेलनको क्रममा वक्ताहरुले नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो ।
नेपाली राजदूतावास लण्डनले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न नेपाल बेलायत मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा मंगलवार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो ।
नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एशियाली क्षेत्रमै जलवायु परिवर्तन सम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने वीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो ।
बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको बिभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउनु भयो ।
उहाँले नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बेलायती संसदमा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका बिभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो ।
यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा रहेको जानकारी दिनुभयो ।
विशेष गरी नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय उर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो ।
समूहगत छलफलमा शिक्षा क्षेत्रमा नेपालमा रहेका लगानीका अवसरहरुका बारेमा ब्रिटिश कलेज नेपालका अध्यक्ष राजन कँडेलले प्रस्तुतिकरण गर्नुभएको थियो ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांस फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्ने लगानीकर्तालाई आश्वासन दिनुभयो ।
लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरुको बारेमा प्रस्तुति दिंदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण निर्माण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गर्नुभयो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपान नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभयो ।
ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेण्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफुहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औल्याउनु भयो ।
सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरुको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा प्रस्तुति दिनुभयो ।
लगानी सहजीकरण समझदारीपत्रमा हस्ताक्षर
साथै उक्त अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरु– ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्याण्ड, बायो, बेल्जियम, फिनफण्ड, फिनल्याण्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्याण्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।
लगानीकर्ताहरु संग अर्थ मन्त्रीको छुटटाछुटटै भेट
लगानी सम्मेलनकै सिलसिलामा अर्थ मन्त्री डा प्रकाशशरण महतले हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जी पी हिन्दुजासँग नेपालमा लगानी भित्र्याउने विषयमा कुराकानी गर्नु भएको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ ।
बेलायतका परराष्ट्र राज्यमन्त्रीसंग अर्थमन्त्रीको भेट
सम्मेलनको क्रममा लण्डनमा रहनु भएका अर्थमन्त्री डा प्रकाशशरण महतले मंगलवार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री आनमारी ट्रेवल्यानसँग भेटवार्ता गर्नु भएको छ ।
भेटका अवसरमा अर्थ मन्त्री महतले नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गर्नुभयो ।
कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानीयोग्य पुँजीमा कमी भएको अर्थमन्त्रीले उल्लेख गर्नु भयो ।
उहाँले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित उर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफुले लिएको बताउनु भयो ।
उहाँले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गर्नु भयो । जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भुमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत आग्रह गर्नुभयो ।
साथै, उहाँले भूतपूर्व गोर्खाहरुको सम्बोधन गर्न बाँकी मागहरुको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गर्नुभयो ।
परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफु सकारात्मक रहेको पनि बताउनुभयो ।
उक्त सममेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, वीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु,व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत गरी करीब सय जनाको उपस्थिति रहेको थियो ।
मा प्रकाशित