१८कार्तिक,सुर्खेत । शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।
मृत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाइते हुनेको सङ्ख्या १६६ पुगेको छ ।
जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।
यसैगरी जुम्लामा २ महिला र १ पुरुष घाइते भएका छन् भने दैलेखमा ३ जना पुरुष घाइते भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सख्त घाइतेमध्ये जाजरकोटका १३ जना प्रदेश अस्पताल सुर्खेतमा र २३ जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यस्तै रुकुम पश्चिमका ८ जनाको नेपालगञ्ज मेडिकल कलेजमा, ११ जनाको प्रदेश अस्पताल सुर्खेतमा र ७ जनाकाे टिचिङ अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ ।
यसैगरी दैलेखका घाइतेहरूको जिल्ला अस्पताल दैलेख र जुम्लाका घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
संघ सरकारसँगको समन्वयमा कर्णाली प्रदेश सरकारले नेपाली सेनाका तीन वटा हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत र नेपालगञ्ज पुर्याइएको मन्त्री जिसीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सुर्खेतबाट भूकम्प प्रभावितहरूका लागि आज बिहान ७ ट्रक खाद्यान्न तथा त्रि–पाल, कपडा पठाइएको छ । थप राहत तथा सहायता सामाग्री नेपाली सेनाको स्काइ ट्रकबाट भूकम्प प्रभावित क्षेत्र पठाउने काम युद्ध स्तरमा भइरहेको मन्त्री जिसीले बताउनुभयो ।
मा प्रकाशित