राष्ट्रपति रामचन्द्र पौडेलकाे फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित

आर्थिक परिवेश
२० कार्तिक,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले भ्रमण स्थगित भएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयाे  ।
नेपाल र नेपाली जनताको निम्ती अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिनुभयो ।
नेपाल सरकारको पेरिस – सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियस भित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपालले सन् २०४५ भित्र शून्य कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राेनको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्र्तगतको One Polar Planet Summit तथा Paris Pact for People and Planet मा राष्ट्रपति पौडेलले भाग लिन जाने कार्यक्रम तय भएको थियो ।
बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्येश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो ।
त्यस्तै, युरोपेली युनियनका महत्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलोपटक महत्वपूर्ण भेटवार्ताको कार्यक्रम थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिए ।
मा प्रकाशित