एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ क्यासी सम्मेलन काठमाडौँमा शुरू

आर्थिक परिवेश

२० कार्तिक, काठमाडौँ   राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्नुभएको छ ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो ।

उहाँले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गर्नुभयो ।

“ नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्त्वपूर्ण अवसर खोलेको छ ।

म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईँहरू सबैलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरूलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरूलाई अपिल पनि गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो ।

“आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशिला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उहाँले भन्नुभयो ।

उहाँले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठुला चुनौती समाधान गर्ने सबैभन्दा  बलियो आधार पनि हो भन्नुभयो ।

“तपाईँहरूले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला हुन् भन्नुभयो ।

उहाँले व्यापार हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘यसले आर्थिक वृद्धिलाई  मात्र हैन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भन्नुभयो, ।

“व्यवसाय क्षेत्रका सङ्गठनहरूले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् ।

यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।”

नेपाल भौगोलिक रूपमा चीन र भारतबिच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउँछ भन्नुभयो ।

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति भएको उहाँको धारणा थियो ।

उहाँले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्दछ भन्नुभयो ।

प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उहाँले आग्रह गर्नुभयो ।

“ म सबै सहभागीलाई भविष्यलाई  दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्न चाहन्छु ।

आउनुहोस् सँगसँगै काम गरौँ, हाम्रा अन्तर्दृष्टि बाँडौँ र एक अर्कालाई हाम्रो व्यवसाय, हाम्रो समुदाय र हाम्रो संसारमा सकारात्मक प्रभाव पार्न प्रेरित गरौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले ३७ औँ क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुनेछ भन्नुभयो ।

यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक छन् भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मा प्रकाशित