मुस्ताड.काे काेरला नाका आगामी सोमबारदेखि खुल्ला हुने

आर्थिक परिवेश

२१ कार्तिक,मुस्ताङ ।  चार वर्षदेखि बन्द कोरला नाका आगामी सोमबार देखि खुल्ला हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा पहल भएसँगै अवरुद्ध रहेका यो नाका खुल्न लागेको हो ।

नाका खोल्नका लागि चीन पक्षले सीमावर्ती क्षेत्र लोमान्थाङ  र लोघेकर दामोदरकुण्डका स्थानीय व्यापारी तथा सर्वसाधारणलाई आमन्त्रण गरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।

नाका खुल्ला हुने सूचना दिँदै बोर्डर पाससहित सक्कल नागरिकताको प्रमाणपत्र समेत लिएर आउन चीन पक्षले सूचित गरेको अध्यक्ष बिष्टले बताउनुभयो ।

‘चीन पक्षले नाका प्रवेश गर्नेहरुको विस्तृत तथ्याङ्क विवरण सङ्कलन गर्न बोर्डर पाससहित नागरिकता बोकेर आउन आग्रह गरेको छ’, अध्यक्ष बिष्टले बताउनुभयो ।

चीन पक्षले कोरला नाका खोल्ने निर्णय गरेसँगै उद्घाटन कार्यक्रमको  तयारी गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा चीन पक्षबाट विशिष्ट व्यक्तिहरूको सहभागिता रहने उहाँले बताउनुभयो ।  कोभिडपछि लामो समय बन्द रहेको कोरला नाका खुल्ला भएपछि स्थानीय व्यापारी,सर्वसाधारण र नेपाल सरकारलाई समेत व्यापारिक कारोबार र राजश्व सङ्कलनमा टेवा पुग्ने अनुमान गरिएको छ ।

नेपाल—चीन उत्तरी कोरलानाकाको बोर्डर पास अनुमति पत्रका लागि मुस्ताङ प्रशासनले पहिलो चरणमा ९ सय ८० जनालाई बोर्डर पास वितरण गरेको थियो ।

यो सङ्ख्या उपल्लो मुस्ताङको एक तिहाइले बोर्डर पास बनाएका हुन् ।

नेपाल÷चीन कोरलानाकाको बोर्डर खुल्ला गर्न नेपाल पक्ष र चीन पक्षको अघिल्लो हप्ता तिब्बतको ढुङ्वासेनमा वार्ता भएको थियो ।

सोही बेला नाका खुल्ला गर्ने तिथि मिति तय गरिएको थियो । चीन पक्षले सोही बेला नेपाल पक्षलाई कही उपहार सहयोग समेत गरेको थियो । उक्त सामाग्री सुरक्षा निकायसँग सम्बन्धित छन् ।

कोभिड तथा सुरक्षाका कारण चीनले बन्द गरेको उत्तरी कोरला नाका अब बाह्रै महिना खुल्ला हुनेछ । यो उपल्लो मुस्ताङका दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुनेछ ।

यसअघि बर्सेनी कोरला नाकाको तिब्बती भूमीमा चीन पक्षले अल्पकालिन ब्यापार मेला सञ्चालन गर्ने गर्थ्यो ।

बर्सेनि असार र भदौ महिनामा तिब्बती भूमीमा किनमेलको हाट बजार लाग्थ्यो । सो बेला नेचुङ भन्सारले बर्सेनी १५ लाखसम्म राजश्व सङ्कलन गर्थ्यो ।

चीन पक्षले कोरला क्षेत्रमा  १ हजार भन्दा बढी पसल सञ्चालन गर्न मिल्ने गरी पूर्वाधार तयार गरिसकेको छ भने नेपाल—चीन व्यापारिक मार्गको दीर्घकालीन नाका सञ्चालन गर्न सुख्खा बन्दरगाह समेत निर्माण गरिसकेको छ ।

नेपाल—चीन कोरला नाका बाह्रै महिना खुल्ला हुने भएपछि उपल्लो मुस्ताङीमा खुसीयाली छाएको छ ।

मा प्रकाशित