असोजमा भित्रियो १ खर्ब ३६ अर्ब रेमिटेन्स, चालु खाता ५९ अर्ब बचतमा

आर्थिक परिवेश

२४ कार्तिक, काठमाडौं। असोज महिनामा मात्र नेपालमा  १ खर्ब ३६ अर्ब रुपैयाँ बिप्रेषण  रेमिटेन्स रकम  भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो।

चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्‍वात्तै बढेको छ। रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो ।

बाह्‍य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ। रेमिटेन्सको बढ्दो दर र आयात बढ्न नसकेका कारण बाह्‍य क्षेत्रमा सुधार आएको हो।

असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न नसकेको हो।

तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ।

चालु खाता तेस्रो महिना लगातार बचतमा छ। गत असारमा  ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ।

शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। विदेशी मुद्राको सञ्चिति पनि निरन्तर उकालो लागेको छ।

असोजसम्म १६ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ।

यो रकम भदौको तुलनामा ४४ अर्ब १९ करोड रुपैयाँले बढी हो। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ।

समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ। भदौमा ८.५ प्रतिशत रहेको महँगीदर असोजमा ७.५ प्रतिशतमा झरेको छ।

यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्‍ने सरकारको लक्ष्य छ।

मा प्रकाशित