सरकारले चार महिनामा करिव १० प्रतिशत मात्र पूँजीगत खर्च गरयो

आर्थिक परिवेश

०२ मंसिर,काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो चार महिनाकाे  अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

कात्तिक मसान्तसम्म चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार कात्तिक मसान्त सम्ममा सरकारको बजेट तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले चालु खर्च शीर्षकमा हालसम्म दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ ।

यस अवधीमा पूँजीगत शीर्षकमा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख बराबर मात्रै खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्था तर्फ हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख बराबर खर्च भएको छ ।

चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ ।

अर्थात् नेपालले पूँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ ।

यस अवधीमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २० दशमलव ०८ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई अर्ब ७५ करोड ८० लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

मा प्रकाशित