०३ मंसिर,काठमाडौं। बिग्रँदो अर्थतन्त्र सुधार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार डाकेको बैठक अनौपचारिक तयारी बैठक मात्र हुने भएको छ।
सोमबार दिउँसो ४ बजे बैठक तय भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
सोमबारको बैठक अनौपचारिक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयाे । ‘सोमबारको बैठक ब्रिफिङका लागि मात्र हो।
यसमा सरकारी निकायहरुबीच आन्तरिक ब्रिफिङ हुने र गोलमेच बैठकको कार्ययोजना बनाउने विषयमा केन्द्रित हुनेछ,’ आचार्यले जानकारी दिनु भयाे ।
शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सोमबारका लागि बैठक बोलाएको बताउनु भएकाे थियाे ।
बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने प्रधानमन्त्रीले बताउनु भएकाे थियाे । बैठकले अर्थतन्त्र सुधार्ने प्याकेजको घोषणासमेत गर्ने दाहालले बताउनु भएकाे थियाे ।
‘मैले मंसिर ४ गतेका लागि बैटक बोलाएको छु। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ,’ प्रधानमन्त्री भनाइ थियाे ।
प्रधानमन्त्री दाहालले कात्तिक १५ गते पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकमा व्यक्त सम्बोधनका क्रममा गोलमेच बैठक बोलाउने बताएका थिए।
सोमबारको आन्तरिक बैठकपछि मात्र गोलमेच बैठक बोलाउने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।