०५ मंसिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपालको आर्थिक अवस्था र चुनाैतिहरूका वारेमा मंगलवार निजी क्षेत्र र विभिन्न दलका प्रतिनिधिसहित छलफल गर्नु भएको छ ।
सरकारले आन्तरिक छलफलपछि अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालासँग छलफलको आयोजना गरेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट मात्रै अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न सकिने भएकाले अर्थतन्त्रको सुधारका लागि मिलेर काम गर्न सरोकारवाला सबैको सहयोग र साथ रहनुपर्ने बताउनु भएकाे छलफलबाट बाहिरिनु भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चारकर्मीलाई जानकारी गराउनु भयो ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिका साथै मन्त्रीहरू, राजनीतिक दलका नेतालगायतकाे सहभागीता रहेको थियाे ।
प्रधानमन्त्री प्रचण्डले हिजो अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय योजना आयोग तथा विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिवहरूसँग पनि यस्तै किसिमको छलफल गर्नुभएको थियो ।