सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई सम्मान गर्दै कर सप्ताह सम्पन्न

आर्थिक परिवेश

७ मंसिर, काठमाडौं ।  सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

गत आर्थिक वर्ष २०७९÷८०मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्रिलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रमका बीच सम्मान गर्नु भएको छ ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

सम्मान कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी बताउनु भयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या हट्दै गएका र सकारात्मक दिशातर्फ अर्थतन्त्र अघि बढिरहेको बताउनु भयो ।

अर्थमन्त्री डा महतले भन्नुभयो, “मुलुकको विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यसो नभए पनि मुलुकको अवस्थामा सुधार भइरहेको छ ।”

नेपाल भविष्य छ, सकारात्मक ‘भाष्य’ स्थापित गरौँ, अर्थतन्त्रमा कहिलेकाहीँ तलमाथि हुनसक्छ”, मन्त्री महतले भन्नुभयो, “तर सरकार अर्थतन्त्रलाई सही मार्गमा ल्याउन क्रियाशील छ, सरकार र निजी क्षेत्र एक भएर काम गरेर सुखद नतिजा आउनेछ ।”

अर्थसचिव कृष्णहरि पुस्करले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनले नेपालको अर्थतन्त्र सही बाटोमा अघि बढिरहेको देखाएको उल्लेख गर्दै सरकारले चालेको सुधारका कार्यक्रमले अर्थतन्त्रलाई थप गति प्रदान गरेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले करको दर नभइ दायरा वृद्धि गर्नुपर्ने, कर नीतिको स्थायित्व हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने तथा खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताउनुभयो ।

सम्मानित कम्पनी सूर्य नेपाल प्रा.लिका उपाध्यक्ष रवि केसीले करदातालाई सम्मान गर्ने परिपाटीले धेरै व्यवसायीलाई हौसला प्रदान गरेको बताउनुभयो ।

सम्मान गरिएका करदाता व्यक्ति तथा कम्पनीहरू

सबैभन्दा बढी कर तिर्ने करदाता : नेपाल दूरसञ्चार कम्पनी ,नेपाल टेलिकम
सबैभन्दा बढी आयकर तिर्ने : नेपाल दूरसञ्चार कम्पनी,नेपाल टेलिकम 
निर्यात कारोबार गर्ने  : डाबर नेपाल प्रालि
विशेष उद्योगको रुपमा :  एसियन पेन्ट्स
कृषि एवम् पशुजन्य उद्योग  : ओसीबी फुड्स एन्ड फिड्स प्राली
उत्कृष्ठ बढीकर तिर्ने सहकारी तथा लघुवित्त  : छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्था  :  ग्लोबल आईएमई
बीमा  कम्पनी : लाइफ इन्स्योरेन्स कर्पोरेसन
स्वास्थ तथा शिक्षा :  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन कम्पनी  :  मनोकामना दर्शन प्रालि
वस्तु व्यापार कम्पनी  : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता  : नेपाल स्टक एक्सचेन्ज
ऊर्जा कम्पनी  : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स कम्पनी  : आईएमई लिमिटेड
व्यक्तिगत आयकर तिर्ने  :  विजयकुमार शाह
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)

मा प्रकाशित