विराटनगरमा शुरू भयाे नेपालकै पहिलाे गाँउवेशी नमूना  कृषि फर्म

आर्थिक परिवेश

०८ मंसीर,विराटनगर ।  कृषि कर्म सहित नेपाली मौलिक परम्पराकाे जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा गाँउवेसी नमूना  कृषि फर्म सञ्चालनमा आएको छ ।

विराटनगरका कानुनी व्यवसायीहरूले करिब १५ करोडको लागतमा फर्म सञ्चालनमा ल्याएका हुन ।

फर्मको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रवार उद्घाटन गर्नुभएकाे छ  ।

लोप हुँदै गएको मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै नेपालका ७७ जिल्लाका रैथाने परम्परा संस्कृतिलाई जोडने गरी कृषि फर्म सञ्चालनमा ल्याइएको फर्मका सञ्चालक भरतबहादुर थापाले बताउनु भयो ।

कृषिलाई आधार मानेर आठ बिघा क्षेत्रफलमा फैलिएको सो फर्ममा माछापालन, पशुपालन, वोटानिकल गार्डेन, कृषि बालीकाे उत्पादन गरिने छ ।

साथै फर्ममा  परम्परागत कृषि प्रणालीसँग जोडिएको ढिकी, जाँतो, हलो, गाडा, कुटो, कोदालो सहितका  परम्परागत कृषि  सामाग्रीहरूकाे एग्रो म्युजियम समेत सञ्चालनमा ल्याउने गरी फर्ममा तयारी गरिएको सञ्चालक थापाले बताउनुभयो ।

पर्यटकहरूका लागि कृषिसम्बन्धी ज्ञान पोखरीमा बोटको व्यवस्था तथा त्यहाँ उत्पादित माछा लगायत विभिन्न प्रकारका मौलिक खानपानसँगै बसोबासको समेत फर्ममा व्यवस्था मिलाइएको अर्का सञ्चालक पुनम गुप्ताले बताउनुभयो ।

आठ बिघा  क्षेत्रफलमा  फैलिएकाे सो फर्मलाई चाँडै १२ बिघा क्षेत्रफलमा विस्तार गरिने  याेजना रहेकाे उहाँको भनाई छ ।

अर्का सञ्चालक हेमराज पन्तले विराटनगरबाट ४ किलोमिटर पूर्व उत्तरमा सञ्चालनमा ल्याइएको साे कृषि फर्म नेपालकै लागि नमुना फर्म भएको दाबी गर्नुभयो ।

फर्म पूर्णरुपमा सञ्चालनमा आएपछि डेढ सय भन्दा बढीले  रोजगारी पाउने संचालकहरूले बताउनु भएकाे छ  ।

मा प्रकाशित