०८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ ।
यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३ लाख रूपैया बराबरको मात्रै निर्यात गरेको छ ।
गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो ।
चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल तीन खर्ब ४७ अर्ब तीन करोड रूपैया बराबरको व्यापार गर्दा दुई खर्ब ८१ अर्ब दुई करोड रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ ।
मा प्रकाशित