१४ मंसिर,काठमाडौँ । सरकारले राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, र सामाजिक सञ्जालको प्रयोगलाई नियमन सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर ७ गते र १३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जालको प्रयोगलाई नियमन सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सञ्चार मन्त्रालयलाइ सैद्धान्तिक सहमति दिने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने दुई करोड अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
साथै बेठकले खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि सो अनुदान प्राप्त हुने सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेन्च ४ दशमलव ४६५ मिलियन अर्थात् करिब ६५ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेकाे छ ।
बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोक्ने र सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा भ्रमरपूर ५ महोत्तरीका सुबोधकुमार शर्मा र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चिसापानी ५ तनहुँका डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नेपाल इञ्जिनियरिङ सेवाको समूहिकरण क्लष्टर अन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सरिता दवाडीलाई बढुवा गर्ने, सांस्कृतिक संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा हतुवागढी २ भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने लगायतका निर्णयहरू गरेको छ ।