नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो ।
सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो ।
सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो ।
उहाँले नेपाल र युएईबिच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो ।
फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर लिन आग्रह गर्नुभयो ।
उहाँले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको बताउनुभयो ।
नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको आकर्षण रहेको जानकारी लगानीकर्तालाई गराइएको थियो ।
आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने जानकारी गराइएको थियो ।
त्यस्तै, नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, होटल तथा रिसोर्ट लगायत पर्यटन सँगसम्बन्धी पूर्वाधारमा पनि लगानीको सम्भावना रहेको विषय फोरममा बताइएको थियो ।
युएईका लगानीकर्तालाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायत पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरिएको छ