मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक छ : नेपाल

आर्थिक परिवेश

१६ मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

“हिमाल, हिमाली सभ्यता एवम् हिमाली समुदायले भोगिरहेका समस्या बुझेर समाधान खोज्न जलवायु परिवर्तनसँग सम्बन्धित संवादको थालनी गर्न म आग्रह गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी आफैँलाई बनाउन पहिला हिमाल बचाऔँ भनेर विश्व समुदायसँग आग्रह गर्दछु ।”

हिमाली देश, त्यहाँको मानव जाति र समग्र पारिस्थितिक प्रणालीले सामना गरिरहेको जलवायु सङ्कटको विषयसँग सम्बन्धित सत्र नेपालले आयोजना गरेको थियो ।

प्रधानमन्त्री दाहालले अध्यक्षता गर्नुभएको उक्त ‘राउन्ड टेबल’ छलफलमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस, किर्गिज रिपब्लिक, भूटान, स्लोभेनिया, मोन्टेनेग्रो, एनडोरा लगायत देश, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) रहेका छन ।

संयुक्त  राष्ट्रसङ्घीय खाद्य एवम् कृषि सङ्गठन (एफएओ) लगायतका प्रतिनिधि र जलवायु क्षेत्रमा काम गरिरहेका विश्लेषकको सहभागिता रहेको थियो ।

हिमाली मुलुकमा जलवायु परिवर्तनका असर बढी देखिएको र यस्ता असर देखिएका ठाउँमा मृत्युदर पनि बढेको अध्ययनबाट देखिएको प्रधानमन्त्री दाहालले उल्लेख गनुभयो ।

“हिमालमा जलवायु परिवर्तनको असर बढ्नु समग्र मानव जाति र पारिस्थितिक प्रणालीका लागि खतराजनक छ ।

‘इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ (आपिसिसी) को पछिल्लो प्रतिवेदनअनुसार मानव सिर्जित ‘ग्लोबल वार्मिङ’का कारण निकै ठूला र अभूतपूर्व समस्या सृजना भएका छन् ।

चक्रवात, बाढी, खडेरी लगायत जोखिम भएका क्षेत्रमा मृत्युदर १५ गुणा बढी देखिएको छ । यो स्वीकार्य छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

विश्वको सबैभन्दा अग्लो हिमाल रहेको नेपालले जलवायु परिवर्तनका असर अरू देशको भन्दा चाँडो भोगिरहेको पनि उहाँको भनाइ छ ।

हिमाली पारिस्थितिक प्रणाली र त्यहाँको नागरिक जीवन प्रत्यक्ष रुपमा जोडिने भएकाले जलवायु परिवर्तनका कारण सृजना भएका समस्यालाई विश्व समुदाय मिलेर समाधान खोजिनुपर्ने धारणा प्रधानमन्त्री दाहालले राख्नुभयो ।

हिमाली मुलुकले संयुक्त र एकमुष्ट रुपमा आवाज उठाउँदा जलवायुसँग सम्बन्धित असरबारे विश्व समुदायलाई अझ बढी बुझाउन र ध्यान केन्द्रित गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले केही समयअघि गर्नुभएको नेपाल भ्रमणका लागि धन्यवाद व्यक्त गर्नुहुँदै प्रधानमन्त्री दाहालले उक्त भ्रमणका क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको असर र प्रभावको प्रत्यक्ष जानकारी सङ्कलन गरेको तथा स्थानीय समुदायले सामना गरिरहेका समस्या र चुनौतीबारे नजिकबाट बुझेको स्मरण गर्नुभयो ।

कोप सम्मेलनमा नेपालले आयोजना गरेको यो सत्रको उद्देश्य हिमाल, हिमाली सभ्यता, हिमाली पारिस्थितिक प्रणाली र हिमालका बासिन्दाको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ ।

उक्त सत्रमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्ताएका साझा समस्या र चुनौती समाधानका लागि सहयोग र ऐक्यबद्धता जनाउन पनि प्रधानमन्त्री दाहालले विश्व समुदायसँग अपिल गर्नुभएको छ ।

उक्त सत्रमा हिमाली क्षेत्रको हित र समग्र पारिस्थितिक प्रणालीबारे चासो देखाएकामा धन्यवाद दिनुहुँदै प्रधानमन्त्री दाहालले ‘ग्लोबल वार्मिङ’लाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने गरी भएको सम्झौताबारे स्मरण गराउनुभयो ।

मा प्रकाशित