सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री

आर्थिक परिवेश

२२ मंसिर, धनगढी ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले जनताका आशा, अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आज कैलालीको धनगढी उपमहानगरपालिका १६ घसिटामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीको विशेष अभियान देशभर सफतापूर्वक अघि बढेको बताउनु भयो ।

उहाँले विशेष रूपान्तरण अभियान जनतामा नयाँ आशा, भरोसा जगाउन सफल भएको बताउनु भयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीलाई जनता, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग जोड्ने काम गरेको छ, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सडक, बिजुली खानेपानी विस्तार लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास योजनाका लागि सरकारले बजेटको कमी हुन दिने छैन भन्नुहुँदै घसिटा क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान हुने बताउनु भयो ।

उहाँले शिवगंगा नदिमा मोटरेवल पुल निमार्ण, बेहडाबावालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा, सडक कालोपत्रे गर्ने लगायत पूर्वाधारका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । वडावासीका तर्फबाट अघि सारिएका मागलाई आफूले सकारात्मक रुपमा लिएको उहाँले बताउनु भयो ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डलाई वडा अध्यक्ष रामलाल चौधरीले विकास लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले आजै धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ

मा प्रकाशित