काठमाडौँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयो ।
“प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री शर्माले भन्नुभयो ।
सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।
मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको जानकारी दिनुभयो ।
नेपाल डिजिटल रूपान्तरणमा तीव्र रुपमा अघि बढिरहेको जानकारी दिँदै उहाँले छिमेकी भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताउनुभयो ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो ।
भारत र नेपालबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनको चरणमा रहेका बताउनुभयो ।
भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सह अध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले नेपालबाट विश्व बजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको भन्दै युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढाएको बताउनुभयो ।
