देशकाे शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा

आर्थिक परिवेश

२८ मंसिर, काठमाडौं ।  अर्थमन्त्री डा . प्रकाशशरणा महतले  मुलुककाे आर्थिक  अवस्थामा क्रमिकरूपमा सुधार भएकाे बताएकाे भाेली पल्ट बिहिवार सार्वजिनक भएकाे प्रतिवेदनले मुलुककाे अर्थतन्त्रका बाह्य सूचकमा सुधारले निरन्तरता पाएको देखाएकाे छ।

नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन  अनुसार रेमिटेन्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति लगायतका बाह्य सूचकमा निरन्तर सुधार देखिएको हो।

कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ  बिप्रेषाण रेमिटेन्स नेपाल भित्रिएको छ। यो वर्षको चार महिनामा रेमिटेन्स ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ।

यो रकम पोहोरको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले बढी हो। वैदेशिक रोजगारीमा जानेको संख्या भने यसपालि घटेको छ।

पोहोर ४ महिनामा २ लाख ८४ हजार युवा वैदेशिक रोजगारीमा गएकामा यो वर्ष कात्तिकसम्म वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ६ हजार छ।

यस्तै, शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। शोधनान्तर बचत कात्तिकमा मात्र ४८ अर्ब रुपैयाँ थपिएको हो।

पोहोरकाे चार महिनामा शोधनान्तर स्थिति २० अर्ब ३ करोड मात्र बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। पोहोर साउनदेखि कात्तिकसम्म चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा थियो।

विदेशी विनिमयको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यस्तो सञ्चिति असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो। चार महिनामा विदेशी विनिमयको सञ्चिति १०.२ प्रतिशतले बढेको हो।


मा प्रकाशित