परराष्ट्र मन्त्रालयकाे सचिवमा पहिलाे पटक महिला नियुक्त

आर्थिक परिवेश

२८ मंसिर, काठमाडौँ ।  सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई  सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो  ।

बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो छ ।

आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको सरकारको चौमासिक कार्य प्रगति समीक्षा बैठकका सम्बन्धमा सञ्चारकर्मीले साधेको प्रश्नमा मन्त्री शर्माले केही मन्त्रालयको कार्य सम्पादन सोचे अनुरुप नभएको बताउनुभयो ।

मन्त्री शर्माले चौमासिक समीक्षा बैठकले आज अन्तिमरुप नपाएकोले पुनः बैठक बसेर आगामी रणनीति तय गरिने पनि बताउनुभयो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिवका लागि लम्सालको मात्र नाम सिफारिस गरेको थियो।

बढुवासँगै लम्सालले परराष्ट्र मन्त्रालयको सचिवका रुपमा जिम्मेवारी सम्हाल्नु हुनेछ । वि.सं २०५५ सालममा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी लम्साल २०७३ देखि २०७७ सम्म पाकिस्तानका लागि नेपाली राजदूत रहनु भएकाे थियाे  ।

परराष्ट्र मन्त्रालयमा सचिवको पद मंसिर २० गतेदेखि रिक्त थियो।

नेपालको परराष्ट्र सेवाको इतिहासमा लम्साल नै पहिलो महिला सचिव बन्नु भएकाे  हाे । ७२ वर्षमा २४ जनाले परराष्ट्र मन्त्रालयको नेतृत्व गरेकामा उनीहरु सबै पुरुष थिए।

मा प्रकाशित