पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी जलजला–ढोरपाटन सडकको स्तरोन्नति हुँदै

आर्थिक परिवेश

०७ पुष, म्याग्दी।   पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ ।

सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् ।

बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

“बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम्म मार्ग खोल्ने काम सङ्घीय सरकारले सँगै अघि बढाएको छ,” उहाँले भन्नुभयो ।

“धवलागिरि गाउँपालिका–२ खोरियामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुङले रु तीन करोडको आयोजना अघि बढाएको छ ।”

पूूर्वाधार कार्यालयमार्फत २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न र ६ किलोमिटर दूरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश सरकारले धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालु आर्थिक वर्षमा रु २५ करोडको आयोजना ठेक्का लगाउन लागेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

 

“म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुना–जलजला ढोरपाटन सडकलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो ।

 

“शिवाङदेखि मच्छिम हुँदै मुनासम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना सुरु गर्छौं । मुना मरेनी हुदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन सङ्घीय सरकारमार्फत काम थालिएको छ ।”

दरवाङदेखि मुुना हुँदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न गाउँपालिकाले रु एक अर्ब बजेट अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर प्रदेश सरकारसँग प्रस्ताव गरेको छ ।

पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

भौगोलिक रुपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने सडकले धेरै वर्षको प्रयासपछि महत्व पाएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

“भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,” उहाँले भन्नुभयो, “पछिल्लो समय वैकल्पिक सडक बनाउन भएको पहलले सार्थकता पाउन थालेको छ ।”

सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उपाध्यक्ष पुनले बताउनुभयो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

मा प्रकाशित