११ पुष, गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक स्राेतकाे अभाव नहुने बताउनु भएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधवार गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चि गरिसकेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना भएको बताउनु भयो ।
एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गर्नुभयो ।
उहाँले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग संचालन गर्नका लागि आवश्यक प्रकृया समेत अघि बढाएको बताउनु भयो ।
मा प्रकाशित