पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार स्वदेशी तथा विदेशीले ओहोरदोहोर गरे

आर्थिक परिवेश

१७पुष, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८ लाख ८३ हजार स्वदेशी तथा विदेशी पर्यटक ओहोरदोहोर गर्नु भएको छ ।

गत पुष महिनाको १७ गतेबाट स्थान्तरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुला हवाई जहाज उडान भएको अवस्थामा एक वर्षमा ८ लाख ८३ हजार ५ सय ३६ जना स्वदेशी तथा विदेशी पर्यटक ओहोरदोहोर गर्नु भएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अन्तरालमा १५ हजार ७ सय ८० वटा हवाई उडान भएसँगै उक्त सङ्ख्यामा पर्यटक ओहोरदोहोर गर्नु भएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराका प्रवक्ता जशोधा सुवेदीले बताउनु भयो ।

उहाँका अनुसार एक वर्षमा पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो) बाट गरी जम्मा १ लाख ३२ हजार १ सय १३ जना विदेशी पर्यटक पोखरामा ओहोरदोहोर गर्नु भएको छ ।

पोखरा विमानस्थलबाट एक बर्ष गत अङ्ग्रेजी महिनाको जनवरी (गत पुष १७) देखि डिसेम्बर (यही पुष १५) सम्म करिब १६ हजार हवाई उडान हुँदा ५३ हजार ५ सय स्वदेशी तथा विदेशी पर्यटकहरूले सानो जहाज तथा हेलिकोप्टर एवं अल्ट्रालाइटमा उडान गर्नु भएको छ ।

यसरी समग्र रुपमा हेर्दा पोखरामा एक वर्षमा जम्मा ३१ हजार ८ सय ८० वटा हवाई उडान हुँदा ९ लाख ३७ हजार ३६ जना स्वदेशी तथा विदेशी पर्यटकहरू पोखरामा ओहोरदोहोर गर्नु भएको छ ।

यो सङ्ख्या हेर्दा पोखरामा एक वर्षमा अघिल्लो वर्षको तुलनामा करिब ३ हजार ४ सय ८३ वटा कम हवाई उडान भए पनि पर्यटकको सङ्ख्या भने ५३ हजार ८ सय ८७ जना बढी ओहोरदोहोर गर्नु भएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पोखरामा गत बर्ष यति एयरलाइन्सको विमान दुर्घटना भएसँगै केही समय हवाई उडान प्रभावित भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक बर्ष पूरा हुँदा यस विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान गर्न नसके पनि रात्रिकालीन सेवा सहित केही हवाई उडान बढेको प्रवक्ता सुवेदीले बताउनु भयो ।

चीनको एक्जिम बैङ्कको ऋण सहायतामा करिब २२ अर्बको लागतमा निर्माण भएको उक्त विमानस्थलमा एक वर्षमा चाइनाबाट ३ र भुटानबाट एक गरी ४ वटा चाटर्ड उडान मात्र भएको छ ।

पोखरा क्षेत्रको आर्थिक क्रियाकलाप थप प्रभावकारी बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न यहाँका निजी क्षेत्रले माग गर्दै आउनु भएको छ ।

पोखराबाट अब पनि अन्तर्राष्ट्रिय हवाई उडान गर्न ढिलाइ गरे पोखराबाट पनि आन्दोलन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

राज्यको ठुलो लगानी र पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गर्दा निर्माण भएका भौतिक संरचनामा भएको लगानीको सुरक्षाको लागि पनि अन्तर्राष्ट्रिय हवाई उडान आवश्यक भएको उहाँले माग गर्नु भयो ।

मा प्रकाशित