पाेखराका पाँच सहकारी समस्याग्रस्त बचतकर्ताको २ अर्ब ८५ करोड रकम जोखिममा

आर्थिक परिवेश

२२ पुष, पाेखरा । पाेखराका पाँच सहकारी समस्याग्रस्त भएपछि  कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ ।

हजारौ बचतकर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् ।

यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती सहकारीको प्रारम्भीक अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ ।

सूर्यदर्शन सहकारी १९ हजार बचतकर्ताको रकम जोखिम

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । यो सबै भन्दा धेरै बचत कर्ता र ठुलो रकम हिनामिना हुने सहकारी हो ।

१ अर्ब ११ करोड ३४ लाख ठगी गरेको आरोपसहित उक्त सहकारीमा १ हजार ३५ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

१९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषध्यक्ष कुमार रम्तेल, संचालक भविश्वर अर्याल र पूर्वसदस्य समेत रहेका शिव गुरुङ (महेन्द्र भोटे) सहित चार जना मात्रै पक्राउ परेका छन् ।

मुख्य अभियुक्त सहकारीका अध्यक्ष जीवी राईसहित अन्य फरार छन् । पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

इमेज सहकारीको ६५ करोड बचत रुपैयाँ जोखिममा

इमेज सहकारीमा रहेको करिब ६५ करोड बचत रुपैयाँ जोखिममा परेको छ । ५२४ बचत कर्ताले प्रहरीमा उजुरी दिएका छन् ।

उजुरी दिने बचतकर्ताले ५७ करोड ९४ लाख रुपैया ठगी गरेको दावी गरेका छन् । अध्यक्ष चित्रबहादुर भण्डारी सहित आरोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने, अझै ९ जना फरार रहेका छन् । पक्राउ परेका ४ जना धरौटीमा रिहा भएका छन् ।

शिव शिखर सहकारी ७० बचतकर्ताको ५४ करोड २३ लाख रुपैया जोखिममा

शिव शिखर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध एक हजार एक सय ३९ जनाले उजुरी दर्ता गराएका छन् ।

उक्त सहकारीमा ७ हजार १ सय ७० बचतकर्ताले जम्मा गरेको ५४ करोड २३ लाख रुपैया जोखिममा परेको छ ।

बचतकर्ता मध्य १ हजार १ सय २९ जनाले ४३ करोड ५९ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएको कास्की प्रहरी प्रवत्ता श्रवण कुमार विकले जानकारी दिनु भयो ।

उजुरीको आधारमा ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पक्राउ परेका ४ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

बलिदानी सहकारी १० करोड ६९ लाख रुपैया जोखिममा
बलिदानी सहकारीकामा आवद्ध ६ हजार ३ सय ४५ जना बचतकर्ताको १० करोड ६९ लाख रुपैया जोखिममा परेको छ ।

एक सय ९८ जनाले ४ करोड २८ लाख बचत रकम ठगी गरेको भन्दै १५ जनाविरुछ उजुरी गरेका छन् ।

प्रहरीले उनिहरुविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष र कोषाध्यक्षसहित ५ जना मात्रै पक्राउ परेका छन् । पक्राउ परेकामध्य ३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मित्र मिलन सहकारी

सहकारीको रकम हिनामिना गरेको आरोपमा पछिल्लो पटक मित्र मिलन सहकारीविरुद्ध पनि उजुरी परेको छ । उक्त सहकारीले ३ हजार ४ सय ४६ बचतकर्ताको ३१ करोड ७८ लाख बचत रकम जोखिममा पारेको छ ।

सहकारीका सदस्य ७ सय १४ जनाले २० करोड ५० लाख ठगिएको आरोप लगाउदै यही पुस ६ मा प्रहरीमा उजुरी दर्ता भएको थियो ।

सहकारी ठगीमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अध्यक्ष रमण पौडेलेसहित ६ जना पक्राउ परेका छन् भने अन्य अझै फरार छन् ।

बचतकर्ताले उजुरी गरेकाहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएकाहरू धेरैजसो फरार छन् ।

पक्राउ परेकामाथि अनुसन्धान र फरारहरूको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनु भयो ।

सहकारी ठगीको आरोपमा पक्राउ पर्नेमा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्वरजिष्टार पनि छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई यही पुस ११ गते कार्यकक्षबाटै पक्राउ गरिएको थियो । उनी पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा पक्राउ परेका पराजुली मंगलबार पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन् ।

पराजुलीमाथि तत्कालीन सहकारी रजिष्टार हुँदा उक्त सहकारीको कार्यक्षेत्र विस्तारको अनुमति दिने क्रममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।

सोही सहकारी ठगीमा जोडिएका पोखरा महानगरपालिका वडानम्बर २१ का वडाध्यक्ष दिपकप्रसाद  सुवदेविरुद्ध पनि पक्राउ पुजी जारी भएको छ ।

मा प्रकाशित