२२ पुष, काठमाडौ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ ।
आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो ।
पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताउनुभयो ।
सम्झौताले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई थप ढोकाहरु खुल्दै जाने पनि अध्यक्ष कार्कीको भनाई छ ।
यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने कार्कीले बताउनुभयो ।
यसका लागि नेपाल तथा भारत सरकारले दुई देशका निजी क्षेत्रलाई विद्युत व्यापारका लागि निर्वाध रुपमा पहुँच दिने गरी थप कार्य तुरुन्तै अघि बढाउनुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न इप्पान तयार रहेको पूृर्व अध्यक्ष कृषणप्रसाद आचार्यले बताउनुभयो ।
नेपालमा विद्युत उत्पादन भएको ११२ वर्षमा २ हजार ८३७ मेगावाट विद्युत उत्पादन हुँदा निजी क्षेत्रको योगदान मात्र २ हजार १७५ मेगावाट पुगेको छ ।
३ हजार १०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन भने २० हजार मेगावाट बराबरका आयोजना अध्ययन तथा निर्माणका विभिन्न चरणमा छन् ।
मा प्रकाशित