विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

आर्थिक परिवेश

११ माघ, काठमाडौं ।  नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ ।

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो ।

बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गर्नु भयो ।

‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले बिदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्न सहज र सरल ढंगबाट वित्तीय सेवा प्रवाह गरी कर्जालाई देशव्यापी बनाउन सके देशको विकासमा टेवा पुग्नेमा विश्वस्त रहेको मन्त्री भण्डारीले बताउनु भयो ।

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले मिडियामा बिदेसिएका नेपालीहरुको मात्र समाचार बन्ने र फर्केका नेपालीहरुको डाटामा कुरा नहुने बताउँदै नबिलले फर्केका नेपालीहरुको सिपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम साच्चै नै अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताउनु भयो ।

अध्यक्ष पौड्यालले प्रवासमा काम गरेर स्वदेश फर्केका नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्न, उनीहरूले हासिल गरेको ज्ञान र विशेषज्ञताबाट उद्यमशीलता प्रवर्द्धन गर्न यो कार्यक्रम निकै उपयोगी हुने बताउनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्ता योजनामार्फत बैंकले दिगो यात्रालाई जोड दिएको बताउनु भयो ।

यस्ता छन् विशेषता

बैंकका अनुसार यो कर्जा विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको हो । यो कार्यक्रम अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने छ ।

बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइने छ । यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

मा प्रकाशित