१३ माघ, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डा महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
“देशको अर्थतन्त्र समस्यामा थियो, बिस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौँ, राजनीतिक पूर्वाधार तयार पारिसक्यौँ ।
अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौँ भन्ने कुरामा विश्वस्त छौँ” मन्त्री डा महतले भन्नुभयो, “हाम्रो आर्थिक सूचकाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ ।
आर्थिक गतिविधि पनि बिस्तारै चलायमान बन्दै गएको छ ।” । मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दाबी छ ।
नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताउनुभयो । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिन सक्नुपर्ने उहाँको भनाइ छ ।
मा प्रकाशित