२० माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास गरी देशमा उत्पादन वृद्धि र रोजगारी सृजनामा सरकार केन्द्रित भएको बताउनु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिवार दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो ।
स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो ।
भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्रीले बताउनु भयाे ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताउनुभयो ।
प्रधानमन्त्रीका रूपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताउनुभयो ।
गरिब, दलित, उत्पीडित जनताको हकहित संरक्षणबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले तल्लोतहका जनताको हकहित रक्षामा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को विकल्प सुदृढ र समुन्नत गणतन्त्र नै भएको त्यसको अर्को विकल्प हुनै सक्दैन भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले नगर अस्पतालको विकासमा प्रदेश सरकारकोतर्फबाट उचित सहयोग रहने बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले १५ शय्याको दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको थियो । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
मा प्रकाशित