बाह्रबिसेमा सबस्टेसनको निर्माण अन्तिम चरणमा

आर्थिक परिवेश

२१ माघ,काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान  अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।

उपकरणहरुको जडान धमाधम भइरहेको छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।


नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ ।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरुको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितकाे प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौं) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

अन्य कुनै समस्या नआएमा निर्माण आगामी २/३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ–आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौं’, घिसिङले भन्नुभयो ।

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ ।

२२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी  शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ ।

शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ ।

यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । ८ वटा टावरमध्ये ५ वटाको जग हालिसकिएको छ ।

मा प्रकाशित