०२ फागुन,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ ।
गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको हो ।
दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ ।
आयोजनाको विद्युत् सुक्खायाम (मङ्सिर १५ देखि जेठ १५ सम्म) आठ रुपैयाँ ४० पैसा र वर्षायाम (जेठ १६ देखि मङ्सिर १५ सम्म) का लागि चार रुपैयाँ ८० पैसामा खरिद गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दश मेगावाटसम्मका आयोजनामा उत्पादन समिश्रण (जेनेरेसन मिक्स) का आधारमा तय गरिएको पिपिए सीमा (कोटा) लागू नहुने व्यवस्था गरिएको बताउनुभयो ।
स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानीलाई जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
हालसम्म दश मेगावाटसम्मका ८९ आयोजनाले पिपिएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाको क्षमता तीन सय ५१ मेगावाट छ ।
आरओआर आयोजनाका लागि तय गरिएको अर्थात् छ हजार सात सय ५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पिपिए हुन सकिरहेको थिएन ।
दश मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन् । प्राधिकरणले हालसम्म नौ हजार दुई सय मेगावाटको पिपिए गरिसकेको छ ।
मा प्रकाशित