०५ फागुन, नेपालगन्ज । पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरसम्मको हवाई उडान सुरु भएको छ ।
यति एअरलाइन्सले सुरु गरेको पहिलो प्रवर्धनात्मक उडान शनिवार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको यति एअरलाइन्सले जनाएको छ ।
आन्तरिक रुपमा धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु गरिएको यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलिप कार्कीले बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले यो उडान गरेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
उडानका लागि यति एअरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।
मा प्रकाशित