चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाए

आर्थिक परिवेश

 

०६ फागुन, चितवन ।     दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी महिनौँसम्म नपाए पछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् ।

जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध गरेका हुन् ।

संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले विरोध स्वरूप दूध पोखेको बताउनु भयो ।

दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित भएका हुन ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड रुपैयाँ भुक्तानी नपाएकोले यो आन्दोलन गर्नुपरेको बताउनु भयो ।

चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ । चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी पाएका छैनन् ।

मा प्रकाशित