०९ फागुन, काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा माघ महिनामा पनि सुधार हुन सकेन् । यस अवधीमा वस्तु तथा सेवाको आयात तथा निर्यात दुवैमा गिरावट यथावत नै रहेकाे छ ।
यस अवधीमा आयात घट्दा पनि सरकारले प्राप्त गर्ने राजश्वमा भने वृद्धि भएको छ ।
भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कले समीक्षा अवधिमा नेपालको कुल आयात २१ अर्ब २२ करोड १४ लाख रुपैयाँले घटेको छ ।
आठ महिनाको अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ छ । गत आवको ७ महिनासम्म ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको आयात भएको थियो । यसरी आयात घट्दा पनि त्यसबाट सरकारले प्राप्त गर्ने राजश्व भने गत वर्षको तुलनामा ११.४३ प्रतिशत बढेको छ ।
चालु आवको पहिलो ७ महिनामा २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने २४ अर्ब २५ करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा भने सरकारले आयात बापत २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ राजश्व उठाएको थियो ।
भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीमा गरिएको कडाइले नै राजश्व बढेको विभागले जनाएको छ ।
राजश्व चुहावटमा लिएको शून्य सहनशीलता र नीतिगत परिवर्तनकै कारण आयात घट्दा पनि राजश्वमा बढोत्तरी आएको विभागको भनाई छ ।
निर्यात पनि ७ प्रतिशत घट्यो, व्यापार घाटा ८ खर्ब माथि
समीक्षा अवधिमा आयातसँगै निर्यात पनि घटेको छ । गत वर्षको माघ मसान्तसम्मको तुलनामा निर्यात ७.०७ प्रतिशत घटेकाे देखिएको छ।
नेपालले समीक्षा अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । यो गत वर्षको तुलनामा ६ अर्ब ६० करोड १४ लाख रुपैयाँले कमी हो । गत वर्षको सोही अवधिमा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात व्यापार गरेको थियो ।
७ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । यो वर्षको तुलनामा २.७५ प्रतिशतले कम हो । गत वर्ष नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । आयातको तुलनामा निर्यात न्यून भएसँगै व्यापार घाटा पनि ८ खर्ब माथि पुगेको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ कायम भएको छ।
मा प्रकाशित