त्रिविकाे उपकुलपतिमा प्रा .डा. बराल नियुक्त, वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयनमा जाेड

आर्थिक परिवेश

१० फागुन, काठमाडौँ ।  देशकाे जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ ।

नवनियुक्त उपकुलपति बरालले   बिहिवार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्नुभएको हो ।

पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।

“त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो ।

विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको उपकुलपतिमा प्रा .डा. केशरजङ्ग बराललाई नियुक्त गर्नुभएको हाे।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसमा बराललाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिले बरालसहित प्रा.डा चित्रबहादुर बुढाथोकी र प्रा डा टङ्कनाथ धमलालाई त्रिविको उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

मा प्रकाशित