१६ फागुन,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।
प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ ।
विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको जनाएको छ ।
प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख थियो ।
गत आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा चार अर्ब ४४ करोड ४६ लाखले बढी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।
प्राधिकरणले चालु आवको छ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाखको विद्युत् किनिएको थियाे ।
प्राधिकरणले यस अवधीमा सहायक तथा सम्वद्ध कम्पनीबाट २८ अर्ब ४९ करोड ९६ लाख रूपैया र भारतबाट एक अर्ब ९८ करोड ६२ लाख रूपैया बराबरकाे विद्युत् आयात गरेकाे छ ।
समीक्षा अवधिमा एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ भने २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ ।